साथीबाटै बलात्कृत भइन् स्कुले बालिका, तीन दिनसम्म होस खुलेन
भरतपुर । स्कुलमा पढ्दा पनि शौचालयमा छात्र साथीले संवेदनशील अंग चलाएको उनलाई थाहा थियो । स्थानीय विद्यालयमा कक्षा ४ मा पढ्ने उनले तत्कालै शिक्षकलाई यस विषयमा जानकारी दिइन् । तर, शिक्षकले यस घटनालाई मह¤व दिएनन् । शिक्षकले तत्कालै प्रतिक्रिया नजनाउँदा अहिले उनी आफ्नै साथीबाट बलात्कृत हुनुपरेको छ ।
………………………………………………………….
चितवन खैरहनी नगरपालिका घर भएकी १० वर्षकी बालिका अहिले भरतपुरकै एक अस्पतालमा उपचाररत छिन् । गत चैत ११ गतेको दिउँसो १२ बजेतिरको घटना हो । जेठी छोरीलाई घरमै सुताएर बाआमा नजिकैको खोलामा नुहाउन गए । तर, नसोचेको घटना घरमा भइसकेको रहेछ । नुहाएर घर फर्किदा छोरी सुतिरहेकी थिइन् ।
बालिकाले पखाला र उल्टी गर्न थालिन् । उठबस गर्न नसक्ने अवस्थामा थिइन् । बाबुआमाले सामान्यरुपमै लिएर छोरीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गयो । सुरबेसुरमा बोल्न थालेपछि उनीहरु आत्तिए । ११ गतेको दिन छोरीको स्याहारसुसारमै गयो । १२ गते बिहानपख बालिकालाई समस्याले छाडेन । सुरबेसुरमा बोल्दै आएकी बालिका बोल्न पनि नसक्ने भइन् ।
अभिभावकले छोरीलाई दिशापिसाब गराउन बोकेरै शौचालय लगे । शौचालयबाट फर्कने क्रममा आमाले छोरीको योनी भाग असामन्य देखेपछि श्रीमान्सँग कुरा गरिन् । बल्ल उनीहरु घटनाबारे नजिक पुगे । उनीहरु १२ गते दिउँसो घटना भएको २४ घण्टा पछिमात्र भरतपुर उपचारका लागि आए । समाचार तयार पार्दासम्म बालिकाको स्वास्थ्य परीक्षण हुन सकेको छैन ।
साथीबाटै बलात्कृत
घरमा एक्लै सुतेको अवस्थामा दुई छात्र साथीहरु आएर एकले घाँटी समाएको र अर्कोले जबरजस्ती गरेको बालिकाले बताएकी छन् । तर, उनले सुरबेसुरमा बोलेकाले अझै कसले के गरेको भन्नेबारे बाआमा नै जानकार छैनन् । ‘हामीले उनी कहिलेकाँही होसमा आउँदा सोध्छौँ, कसले के ग¥यो भनेर ?’ पीडितका बाले भने, ‘तर उनले कहिले को कहिले को भनिरहेकी छन् ।’
दुई चारपटक सोध्दा आफूसँग पढ्ने दुई केटाले घटना गराएको भन्ने छोरीले बताएको तर आफूहरु अझै घटनामा कसको के कस्तो संलग्नता छ भन्नेबारे अन्जान रहेको पीडित बालिकाकी बाले बताए । पीडकबारे जानकारी नभएकाले किटानी जाहेरी नदिएको उनले बताए । प्रहरीमा घटनाबारे भने सामान्य जानकारी निवेदन परेको चितवन प्रहरीका डीएसपी शिव शर्मा आचार्यले बताए ।
अझै बेहोस्
अस्पतालमा उपचाररत बालिकाको स्वास्थ्य अवस्था कमजोर छ । ११ गते दिनको १२ बजेको समय बलत्कारपीडित बनेकी बालिकाको १३ गते बेलुकी ६ बजेसम्म होस खुलेको छैन । अर्थात् उनी सोधेको कुराको सही जवाफ दिन सक्दिनन् । सामान्य समय गणना गर्दा पनि उनी होसमा तीन दिन हुन आउँछ ।
घटना भएदेखि हालसम्म राम्ररी बोल्न नसकेको पीडितको बाले बताए । घटनाभएदेखि अहिले अस्पतालमा हुँदासम्म होस् राम्ररी नखुलेको उनको भनाइ छ । उनको उपचारमा संलग्न नर्सहरुले पनि बालिकाको अवस्था सामान्य नरहेको र उनले सोधेका प्रश्नहरुको उत्तर सही तरिकाले दिने नगरेको हुँदा अझै बेहोस अवस्थामै रहेको बताए ।
स्वास्थ्य परीक्षण
बालिकाको मंगलबार साँझसम्म स्वास्थ्य परीक्षण हुन सकेको छैन । सम्बन्धित अस्पतालले स्वास्थ्य अवस्थाबारे सामान्य जानकारी लिए पनि बालिकाको बलात्कार भए नभएको बारे परीक्षण अझै भएको छैन ।
मानवअधिकारको ख्याल गर्दै बालिकाको परिचय गोप्य राखिएको छ ।
बलात्कारीलाई मृत्युदण्ड माग
हेटौँडा (रासस) । प्रदेश नं ३ को मंगलबार बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका छन् । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गरेका थिए ।
बैठकको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गरे । नेपाली कांग्रेसकी सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको माग गरिन् । उनले भनिन्, ‘बालिका बलात्कारजस्तो अमानवीय क्रियाकलाप गर्ने अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्छ ।’
उनले नेपालमा पछिल्लो समयमा सांस्कृतिक विचलन बढेको भन्दै चिन्तासमेत व्यक्त गरिन् । उनले राजधानी तोक्ने विषयलाई समेत चाँडै टुंगो लगाउन आग्रह गरिन् ।
राप्रपाका सांसद रीता माझीले गाई काट्न हुन्छ भनी सञ्चार माध्यममा आएको विषयमा सदनको ध्यानाकर्षण गरिन् । माझी र नेपाली कांग्रेसका सांसद बलराम पौडेलले यस विषयमा उपसभामुख राधिका तामाङबाट जवाफको माग गरेका थिए ।