घरघरै ‘बम्बैया रोग’

धनगढी — कैलालीको गोदावरी नगरपालिका ११ । दलित बस्ती ओलानी गाउँ । ५० वर्षीय टीका विक घरभित्रको खाटमा निस्लोट थिए । आँगनमा रुवाबासी थियो । आफन्त र छिमेकी सतगदको तयारीमा जुटेका थिए ।
खाटमा पल्टिइरहेका टीका उठ्न सक्ने अवस्थामा थिएनन् । उनी एकोहोरो दलिनमा हेरिरहेका थिए । उनका १२ वर्षका छोरा मुकेशको सतगदको तयारी भइरहेको थियो । मुकेश ५ कक्षामा पढ्थे । मृत्युको कारण थियो– बम्बैया रोग, एड्स । जसलाई केही वर्षअघि मुम्बईमा चौकीदारी गर्न पुगेका बाबु टीकाले लिएर आएका थिए । मुकेशकी आमाको छ महिनाअघि कात्तिकमा यही रोगकै कारण मृत्यु भएको थियो ।

एचआईभीपीडित मुकेशले आमाको मृत्युपछि उचित स्याहार पाएनन् । पोषणयुक्त खाना र संक्रमितले खानुपर्ने एआरटी औषधि नियमित खान नपाउँदा उनी बाँच्न सकेनन् । पाँच महिनादेखि थलिएका बाबु टीकालाई पनि स्याहार नपाएकै कारण छोराको मृत्यु भएको भन्ने लाग्छ । ‘जिउँदो लास बनेर बाँचिरहेको छु, अब म पनि धेरै दिन बाँच्दिनँ होला,’ उनले आफ्नो निरीहता प्रकट गरे । घरमा सबै बिरामी हुँदा पनि भारतमा रहेका जेठा छोरा र माइतमा रहेकी बुहारी नआएकामा भने उनको चित्त दुखेको छ । उनका माइला छोरा सन्तोष भने आफ्नै श्रीमती बेचेको कसुरमा थुनामा छन् । उनी प्रहरीको कडा सुरक्षाकै बीच भाइ मुकेशको दाहसंस्कारमा पुगे । भाइको किरिया उनी नै बसे । मुकेशको मृत्युपछि घरमा बिरामी बाबु टीका एक्लै परेका छन् ।

छिमेकी शंकर विकका अनुसार दुई महिनासम्म बिरामी पर्दा उपचार नपाएका मुकेशलाई शनिबार ‘सेभ द चिल्ड्रेन’ ले उपचारका लागि लगेको थियो तर उपचार गर्न नसकिएको भन्दै मंगलबार घरमा शव ल्यादिएको थियो । एचआईभी संक्रमितको संस्था गोदावरी प्लसका अध्यक्ष दिलबहादुर ओडले घरबाट उपचारका लागि लैजाने सेभ द चिल्ड्रेनले गैरजिम्मेवार काम गरेको बताए । ‘एउटै बिस्तारामा छटपटाइरहेका बाबुलाई चाहिँ लगिएन ?’ उनले प्रश्न गरे ।

जिन्दगीको एउटा सानो गल्तीको फल पूरा परिवारले भोग्नुपरेको भन्दै टीका पश्चात्ताप गरिरहेका छन् । ‘हामी सबैको यस्तो गति देखेर मेरी आमा पनि दसैंमा बित्नुभयो । त्यसको एक महिना पछि श्रमिती गइन् । अहिले छोरो ।’

अलपत्र संक्रमितहरू
आर्थिक रूपले विपन्न । शिक्षा र रोजगारीको अवसरबाट वञ्चित । त्यसमाथि दलित भएको भन्दै भोग्नुपर्ने जातीय दलन । यी सबैबाट उम्किने एउटै उपाय थियो– बम्बै । जहाँ चौकीदार र दरबानको काम गर्न जात सोधिँदैनथ्यो । रातभरि गेट कुर्नलाई कुनै खास योग्यता चाहिन्थेन । खालि थोरै पैसामा रातभर ड्युटी गर्न तयार मान्छे भए पुग्थ्यो । २० वर्षअघि बम्बैमा त्यही अवसर देखेर वरपरका गाउँका युवाजसरी नै टीका विक बम्बै हानिएका थिए । ‘त्यहाँ मजदुरी गरिरहेको थिएँ । असुरक्षित यौनसम्पर्क हुँदा एचआईभी सरेछ,’ टीकाले भने, ‘मलाई थाहा थिएन । घर फर्किएपछि श्रीमतीलाई सर्‍यो । त्यसपछि जन्मिएको कान्छो संक्रमित भएरै जन्मिएको थियो ।’

यो गाउँका अरू घरको कथाव्यथा पनि टीकासँग मिल्दो छ । बम्बै गएर फर्किनेले ल्याउने भएकाले एचआईभी पोजेटिभलाई गाउँघरमा बम्बैया रोग भन्न थालियो । एचआईभी संक्रमण भएकाहरू पनि पोसिलो खानेकुरा र नियमित खानुपर्ने औषधि एआरटी अभावमा थलिन थालेका छन् । ‘यहाँका हरेक घरमा एड्स गन्हायो,’ गोदावरी प्लसका अध्यक्ष ओड भन्छन्, ‘बाहिरभित्र गर्न नसक्ने अवस्थाका रोगीको थाङ्नामा बास भयो । बिरामीको शरीरमा झिंगा भन्केका छन् ।’ उनले संक्रमित बिरामीलाई उपचार, स्याहारसुसार र पोषणयुक्त खानाको निकै कमी रहेको बताए ।

‘परिवार र आफन्तबाट मायाममता पाउनुको साटो घृणा र तिरस्कार खेप्न बाध्य छन्,’ उनी भन्छन्, ‘जवानीमा रूप र सौन्दर्य हेरेर संक्रमित महिलासँग विवाह गरेका श्रीमान्ले श्रीमती अशक्त भएपछि बेवारिसे बनाएर छोडिदिएका घटना पनि धेरै छन् ।’

जानकी चुनाराका ८ वर्षका छोरा छन् । उनी पनि संक्रमित छन् । पहिले नै संक्रमित भएकी जानकीसँग उनका पतिले दोस्रो विवाह गरेका थिए तर अहिले उनी भारत हिँडेका छन् । गोदावरी प्लसकी उपाध्यक्ष पार्वती विक भन्छिन्, ‘उपचार र स्याहार गर्ने मान्छे नहुँदा आमाछोरा दुवै घरको एउटा कुनामा मुडोझैं पल्टिरहेका छन् ।’ उनीहरूलाई दयालु छिमेकी निस्किए कहिलेकाहीं खाना र पानी जोहो गरिदिन्छन् । यी आमाछोराका लागि सदरमुकाम धनगढी पुगेर एआरटी ल्याइदिने गुणी मानिस पनि बस्तीमा छैनन् । गोदावरी नगरपालिका १०, ११ र १२ नम्बर वडामा संक्रमितको संख्या ठूलो छ ।

नन्दा विकका पति यही रोगका कारण उनीबाट छुट्टिए । उनी अहिले थलिएकी छन् । साथमा ७ वर्षका नाबालक छोरा छन् । स्याहार गरिदिने घरमा कोही छैन । ‘थला परेकी आमासँगै नाबालक पनि भोकै प्यासै बाँचिरहेको छ,’ गोदावरी प्लसकी उपाध्यक्ष पार्वतीले भनिन्, ‘उनको घरमा पुग्दा मन रुन्छ ।’

संक्रमित २४ बालबालिका अभिभावकविहीन
मुकेशजस्तै गर्भमै संक्रमित भएर जन्मिएका बालबालिकाको अवस्था झन् दर्दनाक छ । गोदावरी प्लसका अनुसार गोदावरी नगरपालिका वडा १०, ११ र १२ मा मात्रै अभिभावक गुमाएका संक्रमित २५ जना बालबालिका छन् । एक जना अभिभावक मात्रै जीवित रहेका संक्रमित बालबालिका पनि बेवारिसेजस्तै बनेका छन् । कोही संक्रमित बालबालिकालाई गाउँमा एक्लै छोडेर जीविकाका लागि भारत गएका छन् । तिनैमध्येकी एक हुन्, गोमा बोगटी । उनी श्रीमान्को मृत्युपछि छोराछोरी हुर्काउन भारत गएकी छन् । ६ वर्षीय संक्रमित छोरा विष्णु र १२ वर्षीया छोरी घरमै छन् । तीन छोरा र तीन छोरीकी आमा गोमाले हुर्किसकेका १५ वर्षमाथिका २ छोराछोरीलाई भने सँगै भारत लगेकी छन् । स्थानीय डम्बरी विकका अनुसार गाउँका अन्य चार एकल महिला छोराछोरीलाई घरमा छोडेर बाहिर काम गर्न गएका छन् ।

आमाको साथमा रहेका बालबालिकाले स्याहार पाए पनि आमाको मृत्यु भएर बाबुसँग बसिरहेका बालबालिकाले भने त्यस्तो स्याहार नपाएको देखिएको छ । ‘सरकारी स्कुलमा छात्रवृत्ति पाइन्छ तर अन्य खर्च जुटाउन नसक्दा टुहुरा बालबालिकाले बीचमै पढाइ छाडिरहेका छन्,’ पार्वती भन्छिन् । आमाबुबाबाट संक्रमित भएका बालबालिकालाई माया गरेर हुर्काउने दायित्व राज्यले लिनुपर्ने उनको ठहर छ । ओलानी गाउँमा २८ एकल महिला छन् जसमध्ये दुई जनाले मात्रै सडक विभागमा रोजगारी पाएका छन् ।

गोदावरी प्लसका अनुसार यो नगरपालिकाका तीन वडाका कुल १ सय ७४ एचआईभी संक्रमित मात्रै खुलेका छन् । नखुलेकाको संख्या धेरै हुन सक्छ । ‘ओलानी गाउँका सबैजसोलाई भारतमै एचआईभी सरेको देखिन्छ,’ सेती अञ्चल अस्पताल एआरटी सेवा प्रमुख पनेरु भन्छन्, ‘स्वास्थ्य जाँच गराउन यहाँ आउँदा एचआईभी सरेको थाहा पाइन्छ ।’ उनी एचआईभीबारे जनचेतना अपुग रहेको बताउँछन् ।

‘संक्रमितका नाममा धन्दा’
आर्थिक अवस्था कमजोर भएका संक्रमितका नाममा खुलेका धेरै संस्थाले कमाउधन्दा पनि सुरु गरेको अध्यक्ष दिलबहादुरको गुनासो छ । सन् २००६ देखि ०१४ सम्म गैरसरकारी सस्थाहरूले संक्रमितका क्षेत्रमा बिभिन्न कार्यक्रम ल्याए । ‘समाज र परिवारबाट घृणित हुने डरले रोग लुकाएर बसेका संक्रमितहरू खुले,’ उनले भने, ‘त्यसपछि भने संस्थाहरू आफ्नो बाटो लागे । संक्रमितहरूले फाइदा पाउन सकेनन् ।’

उनले समाजको नजरमा संक्रमितप्रति घृणाभाव नै रहेकाले अहिले संक्रमितहरूले परिवारबाट स्याहार पाउन नसकेको बताए । ‘नखुलेको भए, परिवारले बिरामी पर्दा स्याहार गर्ने थिए,’ उनले भने, ‘खुल्यौ, परिवार तथा आफन्तहरू त्यो एचआइभी लागेको मानिस हो । नजिकै नजाउ भन्छन् ।’ उनले स्थानीय तहका राजनीतिक, आर्थिक, सामाजिक तथा अन्य गाउँ टोलका उपभोक्ता समितिमा संक्रमितलाई नराख्ने गरेको गुनासो गरे ।

जिल्ला जन स्वास्थ्य कार्यालय कैलालीका अनुसार अहिले जिल्लामा ३ हजार ३ सय ७६ एचआइभी संक्रमित छन् । सरकारले एचआइभी संक्रमितलाई २ ठाउँ टिकापुर र सेती अस्पतालबाट निशुल्क एआरटी औषधि दिने गरेको छ । ४२ स्थानबाट रक्त जाँच हुने गरेको छ । जिल्लाभरका १ हजार १ सय ७४ ले मात्रै नियमित एआरटी लिने गरेका छन् ।

रोगभन्दा गरिबीले बढी पीडित
एड्ससँग जुध्न गरिबी नै प्रमुख बाधक भएको पार्वती बताउछिन् । एचआइभी संक्रमितलाई टिबी, क्यान्सर वा अन्य कुनै रोग लागेमा उनीहरूको बाँच्ने संभावना कम हुने मानिन्छ । ‘संक्रमितले पौष्टिक तत्व पाईने खाना खानु अनिवार्य छ । तर उनीहरूको आर्थिक अवस्था निकै कमजोर छ । त्यसमाथि अरु कुनै रोग लाग्यो भने सक्कियो,’ उनले भनिन् ।

आर्थिक अवस्थापछि अर्को ठूलो समस्या छ, औषधिको । संक्रमितले लामो समय बाँच्न प्रत्येक दिन एउटै समयमा एआरटी लिनु अनिवार्य हुन्छ । कैलालीमा एआरटी सेती अञ्चल अस्पताल र टिकापुर अस्पतालमा मात्रै पाइन्छ । एआरटी सेन्टरका प्रमुख लोकराज पनेरु संक्रमितहरूले औषधी मात्रै खाएर नपुग्ने बताउँछन् । ‘पोषिलो खाना पनि खानुपर्छ, त्यो नपाउँदा बिरामी थलिदै जान्छन्,’ उनले भने । यहाँका अधिकांशको दुई तीन कट्ठामात्रै जमिन छ । माथिल्लो तहको पढाई नभएकाले गतिलो रोजगारीको अवसर पनि छैन । त्यसमाथि छुवाछुतको सांग्लो छँदैछ । ‘यो गाउँमा मान्छे रोगले भन्दा बढी गरिबीले संक्रमित छन्,’ तारा विकले भनिन् ।

‘औषधि र स्याहारले तंग्रिएँ’
उचित स्याहार र औषधिको नियमित सेवन भए संक्रमितहरू तंग्रिएर ठीक हुन सक्छन् । ओलानीका एचआइभी संक्रमितहरूको संस्था गोदावरी प्लसका अध्यक्ष दिलबहादुर बिक त्यसका उदाहरण हुन् । २५ बर्ष अघि भारतमा काम गर्न गएका उनी संक्रमित भए । केही वर्षसम्म उनलाई के रोग लाग्यो भन्ने थाहा भएन । ‘उपचारमा सबै पैसा सकिएपछि मेरी श्रीमतीले बोरामा घरमा ल्याएकी हुन्,’ उनले भने, ‘२०६४ सालमा बल्ल संक्रमण भएको थाहा भयो ।’

उपचार र मनोपरामर्शपछि उनले समाजमा आफू संक्रमित भएको बताए । २०६५ मा आशाकिरण प्रतिष्ठानमा एचआइभि संक्रमित मोटिभेटरको जागिर पाए । अहिले उनी तङग्रिएका छन् । ‘नियमित औषधी सेवनले शरिर तन्दुरुस्त भयो । बालीनाली लगाउँछु । मिहिनेत गर्छु,’ उनी भन्छन्, ‘जागिरबाट पैसा कमाउँदा आर्थिक स्थितिमा पनि सुधार आयो ।’

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host