पशुपति भण्डारेश्वरमा शिव आरती शुरु

काठमाडौँ, १७ चैत (रासस): विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित भण्डारेश्वर मन्दिरमा शिव आरती शुरु भएको छ ।
श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिको आयोजनामा प्रत्येक महिनाको तेस्रो शनिबार शिव आरती गरिने आज आयोजित कार्यक्रममा जानकारी गराइयो । सो अवसरमा वरिष्ठ तबलावादक अच्युतराम भण्डारी, गायिका अर्चना विष्ट र वरिष्ठ किबोड वादक विष्णु श्रेष्ठले भक्ति संगीत कार्यक्रम प्रस्तुत गर्नुभयो ।
शिव आरतीको कर्ता जीवनको ८४ वसन्त पार गर्नुभएका जगतमोहन श्रेष्ठ र सुनकुमारी श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रमको शुरुवात् गर्दै काठमाडौँ क्षेत्र नं ६ की समानुपातिक प्रदेशसभा सदस्य जीवन डंगोलले धर्म संस्कृतिको संरक्षणका लागि समितिले उदाहरणीय कामको शुभारम्भ गरेको बताउनुभयो ।
गुठी संस्थानका अध्यक्ष नारायण चौधरीले देशभर रहेका सबै मन्दिरमा पूजा एवं आरतीको व्यवस्था गर्न सामाजिक संस्था र स्थानीयवासीको पनि सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।
समितिका अध्यक्ष रमेश महर्जनले विसं २०५८ मा स्थापना भएको समितिले १० कोठाको किरियापुत्री भवन सञ्चालनमा ल्याएको जानकारी दिँदै दैनिक पूजा र हवन पनि भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host