पाँच जिल्लाका पूर्वसेनाको सम्मेलन सम्पन्न
काठमाडौँ, १७ चैत (रासस) : प्रदेश नं ३ का पाँच जिल्लाका १८ हजार ७०० भूतपूर्व सैनिकको सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ ।
पूर्वसैनिकको सम्मेलन २०७३ माघ २१ गते धनगढीबाट शुरु भएकोमा आज टुँडिखेलमा सम्पन्न भएको हो । यस बीचमा नेपालगञ्ज, सुर्खेत, बुटवल, खैरेनीटार, पोखरा, सिन्धुली, त्रिशूली, धनुषा, भरतपुर, इटहरी, हिले र गाईघाटमा सम्मेलन भइसकेका छन् ।
नेपाली सेनाले आयोजना गरेको सम्मेलनमा काठमाडौँ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर र ललितपुरका पूर्वसैनिकको सहभागिता थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनामा योगदान गरेकाका लागि हित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा पाँचै जिल्लाका पूर्वसेनाले कवाज प्रस्तुत गरे । सो अवसरमा काठमाडौँका सेनाले लाखे नाच, सिन्धुपाल्चोकका सेनाले शेर्पा, काभ्रेपलाञ्चोकका सेनाले तामाङ, भक्तपुर र ललितपुरका सेनाले नेवारी सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय अपांगता पुनःस्थापना समाजले २२ जना फरक क्षमताका मानिसलाई ‘ह्विल चेयर’ वितरण गरेको थियो । समाजले विसं २०७० देखि ‘ह्विल चेयर’ वितरण गर्दै आएको सो अवसरमा जानकारी गराइयो ।
नेपाल इन्भेष्टमेन्ट बंैकको सहयोगमा उद्यम गर्न चाहने पूर्वसैनिक एवं तिनका परिवारलाई सहुलियत दरको ऋण प्रदान गरिएको थियो । कार्यक्रममा बलाधिकृत रथी पूर्णचन्द्र थापा, अवकाश प्राप्त रथी फत्तेबहादुर लिम्बूले पूर्वसेनाले पु¥याएको योगदानको स्मरण गर्दै आगामी दिनमा पनि समाजका विभिन्न क्षेत्रमा सहयोग गर्न आह्वान गर्नुभयो ।
पछिल्लो समय प्रत्येक प्रधानसेनापतिको कार्यकालमा एक पटक मुलुकभर पूर्वसैनिकको सम्मेलन गर्ने नीति सेनाले कार्यान्वयनमा ल्याएको छ । द्वन्द्वमा लामो समयसम्म रोकिएको भूपू सम्मेलन २०७० सालदेखि शुरु भएको हो ।
मुलुकभर भूपू सैनिकको संख्या ७० हजारको हाराहारीमा रहेको सेनाले जनाएको छ । सम्मेलनका क्रममा पूर्वसैनिकको जीवनस्तर उकास्न सञ्चालन हुने लघुवित्त कार्यक्रमका लागि सहुलियत ब्याजदरमा ऋण प्रदान र स्वास्थ्य शिविरजस्ता सेवामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
सम्मेलनका बेला सैनिक नेतृत्वबाट पूर्वसैनिकका गुनासो सुन्ने र त्यसलाई सम्बोधन गर्ने प्रचलन छ । यसै अनुसार प्रधानसेनापति क्षत्रीलगायत उच्च सैनिक अधिकारीले आज टुँडिखेलमा पूर्वसेनाका कुरा सुन्नुभयो ।
पछिल्ला सम्मेलनमा सहभागीलाई सेनाले कल्याणकारी कोषमार्फत बाटो खर्च, औषधिसहितको प्याकेज तथा कम्बल उपलब्ध गराउँदै आएको जनाइएको छ ।